Sunday, December 4, 2011

Secrets of Hanumante.........

हनुमानले हिमालयवाट ल्याएको पर्वत हुनसक्छ ः हनुमन्ते



दोलखा जिल्लाको उत्तरपूर्वी गा.वि.स.हरु जिरी र जुगुँको सिमानाको रुपमा रहेको हनुमन्ते पर्वत प्राकृतिक रुपमा मात्र नभई धार्मिक दृष्टिकोणले समेत निकै महत्वपूर्ण गन्तव्यको रुपमा रहेको छ । समुन्द्री सतहवाट करिव ३०५० मिटरको उचाइमा अवस्थित हनुमन्ते पवित्र हिन्दु धार्मिक ग्रन्थ रामायणका महत्वपूर्ण पात्र हनुमान (रामका सेवक तथा वलवानको उपनामले चित्रित गरिएको) को नामसंग जोडिएको अनुमान गर्न सकिन्छ । रामायणको युद्धमा लंकाका राजा रावणका भाई इन्द्रजितले प्रहार गरेको व्रम्हाअस्त्र रामका भाई लक्ष्मणलाई लागेपछि मृत्युशैयामा चिच्याईरहेका उनको उपचार संजिवनी वुटिको रसले मात्र गर्न सक्ने वैद्यहरुले वताए पछि हनुमान उक्त संजिवनी वुटि खोज्न हिमालय पर्वत तर्फ गएको रामायणमा उल्लेख गरिएको छ । हिमालय पर्वतमा उपचारका लागि चाहिने संविजनी वुटि चिन्न नसकेपछि उनले एउटा सिङ्गो पहाड नै वोकेर ल्याएको प्रशंग पनि उक्त ग्रन्थमा उल्लेख गरिएको छ । तथापी हिमालाय श्रृङखलाको कुन क्षेत्रवाट उक्त पहाड ल्याएको भन्ने वारेमा अर्थात उक्त पहाडको नामको वारेमा भने न त रामायणमा नै उल्लेख गरिएको छ न त अन्य कुनै प्राचिन ग्रन्थहरुमा । केहि भारतीय पुस्तक, पत्रपत्रिका र वेभसाइटहरुमा उक्त संजिवनी वुटि भएको पर्वतको नाम गन्धमर्दन पर्वत भनि प्रस्तुत गरिएको छ जुन दक्षिणी भारतको उडिसा राज्यको वालङगर र भारग्रा जिल्लामा पर्दछ । तर तिनै पुस्तक, पत्रपत्रिका र वेभसाइटहरुले उक्त गन्धमर्दन पहाड हनुमानले हिमालयवाट त्याएर उक्त स्थानमा स्थानतरण गरेको खुलासा गरेका छन् । भारत कै केहि ईतिहासकारहरुले भने हनुमानले लक्ष्मणको उपचारका लागि हिमालयवाट संजिवनी वुटि यूक्त पर्वत ल्याउने क्रममा उक्त पर्वतको केही भाग हालको गन्धमर्दन पर्वत रहेको स्थानमा खसेको र त्यसै आधारमा उक्त पर्वतलाईनै संजिवनी पर्वत भनिएको उल्लेख गरेका छन् । रामायणको पुरानो ग्रन्थमा समेत उक्त संजिवनी पाहाड हिमालय पर्वतवाट ल्याईएको भन्ने मात्र उल्लेख भएवाट यो प्रस्ट हुन्छ की हनुमानले लगेको उक्त पहाड हिमालयकै कुनै क्षेत्रवाट लगिएको थियो ।

         हिमालयको भौगोलिक वर्गिकरण अनुसार चुरे पहाड भन्दा माथिको भागलाई हिमालय भनिन्छ । भित्री मधेश ( चुरे पर्वत र महाभारत पर्वत विचको भुभाग), दुन भ्याली र मिडल्याण्ड (महाभारत पर्वत माथिको वसेको समथर भुभाग जस्तै नेपालको काठमाण्डौ, पोखरा, पाँचखाल आदि) वाहेक सामान्यतया समुन्द्री सतहवाट २१०० मिटर देखि ८८४८ मिटर सम्मको चुरे पर्वतको फेददेखि तिव्वतीयन पठार सम्मको उत्तर दक्षिण भुभाग  र भुटान देखि अफ्गानिस्तान सम्मको २४०० किलोमिटर पूर्व पश्चिम क्षेत्र हिमालय भित्र पर्दछ । यस अर्थमा गन्धर्मदन पर्वत रहेको दक्षिणी भारतको उडिसा राज्य हिमालय भित्र पर्ने देखिदैन । त्यसैले यो भारतको मिथ्या प्रचार मात्र हो भन्न सकिन्छ । तथापी हनुमानले हिमालय वाट लगेको पर्वत उक्त स्थानमा राखेको कुरालाई भने सिधै नकारीहाल्न सकिदैन । हिमालय भित्र पर्ने अन्य देशहरु जस्तै भुटान, पाकिस्तान, अफगानिस्तान, चिन तथा भारतकै अन्य हिमाली प्रदेशहरुमा समेत हनुमानको नामसंग जोडिएको वा रामायणमा उल्लेख भएजस्तो संजिवनीयूक्त पहाड रहेको कुनै स्थान नभेटिएवाट ति देशहरुवाट लगेको होईन रहेछ भनि किटान गर्न सकिन्छ । नेपालको सन्दर्भमा दोलखा जिल्लाको हनुमन्ते भन्दा अन्य कुनै पहाड हनुमानको नाम वा प्रशंगसंग जोडिएको भेटिदैन । गुगल तथा विकिपेडिया मा खोजी गर्दा नेपालको दुई स्थानमा हनुमन्ते नाम भएको स्थान भेटिन्छ । एउटा दोलखा जिल्लाको जिरी गा.वि.स. र जुगुँ गा.वि.स. को साँधको रुपमा रहेको हनुमन्ते पर्वत र अर्को भक्तपुर जिल्लामा रहेको हनुमन्ते खोला । खोला र पहाड दुई फरक चिज भएकाले हनुमन्ते खोला हनुमानले वोकेको पहाड होईन भनि निक्र्योल गर्न सकिन्छ । तसर्थ यि विविध तथ्य र प्रमाणहरुका आधारमा हनुमानले वोकेको संजिवनी पर्वत ३०५० मिटर अग्लो प्रशस्त जडिवुटिहरुको भण्डार रहेको दोलखाको हनुमन्ते नै होला भन्न सक्ने प्रशस्त आधारहरु छन् । तथापी यसका सम्वन्धमा थप अध्ययन अनुसन्धान गर्न भने जरुरी छ । हनुमानले हिमालयवाट लगेको संजिवनी पहाड हनुमन्ते नै हो भन्ने प्रमाणहरु यस पहाड संग जोडिएका किवंदन्ती तथा यस क्षेत्रमा रहेका प्राचिन पुरातात्विक प्रमाणहरुले अझ मजवुद वनाएका छन् । हनुमन्ते वरीपरि रहेका गुफा तथा पहराहरुमा रहेको अनेकौं आकृति तथा चिन्हहरु जस्तै हनुमानको हातको पञ्जाको छाप, खुट्टाको पञ्जाको छाप आदिले हनुमन्तेको केहि नै केहि सम्वन्ध हनुमानसंग रहेको वताईरहेको अनुमान गर्न सकिन्छ । हनुमानको सताव्दी औं पुरानो प्राचिन मुर्ति मल्लकालिन समयमा नै हनुमन्तेवाट हराएपछि त्यस ठाँउमा हनुमानको नयाँ प्रतिमा स्थापना गरिएको थियो । उक्त नयाँ प्रतिमा समेत ५०० वर्षभन्दा पुरानो रहेको अनुमान गरिएको छ । करिव २०० मिटर अग्लो डरलाग्दो पहराको विचवाट निकै जोखिम मोलेर पूर्णकदको हनुमानको प्राचिन मुर्ति मल्लकालिन समयमा नै हराउनु, हनुमन्तेको पहरामा रहेको हनुमानको शरिर अंकित चिन्ह उक्त स्थानवाट उप्काएर लानु (हाल उक्त स्थानमा धारिलो वस्तुले चट्टान काटिएको दाग मात्र देख्न सकिन्छ) आदिले यो क्षेत्र परापूर्वकालदेखि नै निकै महत्वको स्थान रहेको अनुमान गर्न सकिन्छ ।

            हनुमन्ते डाँडा भन्दा केहि तल जुगँु गा.वि.स मा पर्ने पहराको फेदमा रहेको सानो गुफामा रहेको सिवलिङ्ग आकारको शिला र त्यसमाथि वाट गाईको चारवटा थुन जस्तो आकार भएको चट्टानवाट झरिरहेको सेतो दुध जस्तो तरल पदार्थले सवैलाई आश्चर्यमा मात्र पार्दैन धार्मिक विश्वास नभएकाहरुलाई समेत विश्वासको आधार प्रस्तुत गरेको छ । उक्त शिवलिङ्गको छेउमै रहेको सानो कुवामा वाह्रै महिना पानी जम्मा भईरहन्छ । हनुमन्ते पर्वतको जिरी तर्फको क्षेत्रमा विशाल चट्टानमुनी ठुलो ओडार रहेको छ । ओडारको भित्रि भागमा महादेवको शिला रहेको छ जस्लाई मन्दिरको रुप दिईएको छ । करिव २०० जना सजिलै अट्न सकिने उक्त ओडारका भित्ताहरुमा विभिन्न जनावरहरुको आकृति तथा चिन्ह देख्न सकिन्छ भने मन्दिरको छेउमा रहेको कुवामा रगत जस्तो रातो पानि जमेको देख्न सकिन्छ । उक्त कुवाको पानि छोईएमा घरपरिवारमा अनिष्ट हुने किवंदन्ती रहेको छ । पहिले पहिले घना जंगल हुदाँ उक्त ओडारमा बाघ, भालु जस्ता जंगली जनावरहरु वस्ने गरेको स्थानीय वृद्धहरु वताउछन् ।

            हनुमन्ते क्षेत्रभित्रै रहेको अर्को डाँडा ठुलोनागी पनि ऐतिहासिक महत्वको स्थान रहेको छ । नेपालमा बाईसे चौविसे राज्यहरु हुदाँ उक्त स्थानमा ठुलो दरवार रहेको भनाई छ । किराँतीहरुले राज्य गरेको जिरीमा उनिहरुले शत्रुहरुले आक्रमण गर्ने डरले तथा कतावाट दुश्मनहरु आएको छन भनि हेर्न सजिलो होस भन्ने हेतुले राजमहल भने ठुलोनागीको डाँडामा वनाएका थिए रे । पृथ्वी नारायण शाहाले नेपाल एकिकरणको क्रममा उनिहरुलाई परास्त गरेपछि उक्त दरवार पनि भत्काईदिएको वुढापाकाहरुको भनाई रहेको छ । सोही भनाईको आधारमा दरवार रहेको भनिएको स्थानमा केहि वर्षअघि मात्र उत्खनन गर्दा केहि प्राचिन ईटाहरु पाईएका थिय जसलाई पुरातत्व विभागमा अनुसन्धानका लागि पठाउने तयारी भईरहेको छ । अनुसन्धान पश्चात यसको सत्य तथ्य वाहिर आउने छ भने कति वर्ष पुरानो हो भन्ने समेत पत्ता लाग्ने छ । उक्त स्थानमा अझ गहिराई सम्म उत्खनन गरेमा थप त्यस्ता ईटा तथा घर वनाउन प्रयोग गरिने अन्य वस्तुहरु भेट्न सकिने स्थानीय वासिहरुको भनाई छ ।

                यति धेरै पौराणिक कथा तथा प्राप्त प्रमाणहरुका बावजुत पनि धार्मिक क्षेत्र हनुमन्ते अझै ओझेलमा नै परिरहेको छ । यस संग सम्वन्धित पौराणिक किवंदन्ती, ईतिहास तथा यस क्षेत्रका प्रमाणहरुलाई एकिकृत गरी गहिरो अध्ययन र अनुसन्धान गर्न सकेमा जिरी, जुगुँको मात्र हैन समस्त दोलखाली र नेपालीहरुकै लागि फाईदाको विषय वन्न सक्छ । संरक्षणको अभाव र वेवास्ताको कारण यस्तो महत्वपूर्ण ठाँउको महत्वपूर्ण प्रमाणहरु नासिने अवस्थामा छन् । ईतिहासका विविध कालखण्डहरुमा यस क्षेत्रका प्रमाणहरु चोरी भईरहेको अवस्थामा यसको रेखदेख गर्नु पर्ने टड्कारो आवाश्यकता देखिएको छ । झ्याउ, लेउ, झार हरुले समेत यहाँका चट्टानमा रहेका ऐतिहासिक प्रमाणहरुलाई नष्ट गरिरहेका छन् । पुरातात्विक तथा धार्मिक महत्व वोकेको हनुमन्तेको वेलैमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न सके यो क्षेत्र अन्तराष्ट्रिय रुपमा नै चर्चित वन्ने छ र धार्मिक पर्यटनको लागि विशेष गन्तव्य वन्न सक्ने छ । हामि सवैको साथ, सहयोग र सहकार्यवाट नै हनुमन्ते पर्वतको रहस्य उजागर गर्न सकिन्छ । यसका साथै यस क्षेत्रको विस्तृत अध्ययन अनुसन्धानका लागि सम्वन्धित निकायहरुमा पहल गर्नु पनि हनुमन्तेको ईतिहास कोट्टाउने राम्रो प्रयास हुन सक्छ ।