Jiri municipality profile map (cropped) |
पर्याप्त जनसंख्या नपुगेतता पनि मौजुदा संरचना एवं सामरिक र पर्यटकीय महत्वका कारण दोलखा जिल्लाको ९ नं ईलाका अन्तरगत रहेको तात्कालिन जिरी गा.वि.स. सहित छिमेकी ठुलोपातल गा.वि.स. र माली गा.वि.स. लाई समेटेर विषेश सम्बोधन सहित सरकारले २०७० सालमा हिमाली नगरपालिका घोषणा गरेको थियो । देश संघिय संरचना गएपछि स्यामा गा.वि.स लाई समेत समाहित गर्दै हालको जिरी नगरपालिका बनेको हो । तर नगरपालिका घोषणा भएको करिब ५ वर्ष वितिसक्दा पनि नगरपालिका भित्र मापदण्ड अनुरुप हुनपर्ने उल्लेख्नीय बिकास निर्माणका संरचनाहरु भने सोचे अनुरुप निर्माण हुन सकेका छैनन् । त्यसो त योजना र बजेट अभावका कारण यस्तो परिस्तिथि आएको भने पक्कै होईन । केन्द्रिय सरकार र प्रदेश सरकारले समेत विगत लामो समयदेखि जिरीलाई निकै महत्वका साथ आफ्ना निति तथा कार्यक्रमहरुमा समाबेश गर्दै आएको छ । त्यति मात्र हैन जिरी नगरपालिकाले समेत आफ्नो बार्षिक तथा आवधिक योजनामा जिरीको आक्रमक विकास निति लिएको छ । त्यस्तै स्थानीय निर्वाचनताका जिरीस्थित क्रियाशिल राजनैतिक दलहरुले समेत आफ्नो घोषणा पत्रमा जिरीको विबासका लागि पर्यटकीय संरचना निर्माणलाई प्रमुख प्राथमिकतामा राखेका थिए । यसरी सम्पूर्ण तह, क्षेत्र र आम जिरीबासीको एउटै चहाना र उद्धेश्य हुदाँ हुदै पनि जिरी नगरपालिकाभित्र अपेक्षित रुपमा सार्वजानिक संरचना निर्माण नहुनुमा भने यहाँ रहेका विभिन्न सरकारी संस्थानहरुको नापि नक्शा सहित स्वामित्वमा रहि खासै प्रयोगमा नआएको हजारौं हेक्टर खालि जग्गा र सामुदायिक एवं सरकारी बनक्षेत्र बाधक बन्दै आईरहेका छन् ।
विषेश गरि विकास निर्माणमा वाधा खडा गर्ने निकायमध्य तात्कालिन पशु विकास फार्म (हालको गाई आनुबाँसीक श्रोत केन्द्र) जिरीको नाम अगाडि आउँछ । कृषि मन्त्रालय (हालको पशुपंछी) अन्तरगत रहेको फार्मको नाममा जिरी न.पा. वडा नं. ५ लिङ्कन बजारको तल्लो भुभाग, जिरी न.पा. वडा नं. २, एलुङको ओख्रेटार, जिरी न.पा. वडा नं. १ पुम्पाकोट र रामेछाप जिल्लाको गोकुलगंगा गा.पा. चुचुरे र्गजाङ मा गरि हजारौं रोपनी जग्गा रहेको छ । स्वीस बिकास नियोग ले जिरी बहुमुखी बिकास योजना अन्तरगत पशुपालनलाई प्राथमिकतामा राखि नेपाल कै नमुना पशुफार्मको रुपमा विकास गर्ने योजना अनुसार वितग तिन दशक अगाडि संचालनमा ल्याएको यस बृहत परियोजनामा हाल भने केहिमात्र गाई र बगुंर बाहेक अन्य पशुपंछिहरु छैनन् । तर पनि उचित व्यवस्थापनको अभावमा हजारौं हेक्टर जमिन प्रयोगविहिन अवस्थामा बाँझो रहेको मात्र छैन, विविध क्षेत्रबाट अत्याधिक अतिक्रमणमा समेत परेको छ ।
त्यसै गरि बन विभाग बाधा खडा गर्ने अर्को निकाय हो । हाल नगरपालिका भित्रका अधिकाँस बनक्षेत्र सामुदायिक बन उपभोत्ता समुह मातहात आएपनि बन विभागले बन ऐन २०४९ र बन नियमावली २०५१ को प्रयोग गरि बन संरक्षणको नाममा बिकास निर्माण कार्यमा अवरोध मात्रै गर्दै आईरहेको छैन, करिव ३ दसक अगाडि नै स्वीस विकास नियोगको सक्रियतामा तात्कालिन जिरी नगरपालिकाको विभिन्न खालि जमिनमा सल्लाको विरुवा रोपिएको सल्लाको विरुवा रुखो हुने, जमिनको उर्वराशक्तिमा हस ल्याउने, माटोको अम्लियपना बढाउने, पानिको मुहानहरु सुकाउने, र पहिरोको सम्भावना समेत रहने तथा काठ बाहेक अन्य कुनै प्रयोजनमा प्रयोग नहुने तथ्य सार्वजानिक भएसंगै उक्त विरुवा विस्थापन गरि अन्य डालेघाँस लगाउने स्थानीयको योजना र नगरपालिकाको पहलमा समेत बनले अड्को थापिरहेको छ ।
कुन कुन योजनामा आयो बाधा ?
१. हाई अल्टिच्युड स्पोर्ट ट्रेनिङ सेन्टर ः
नेपाल सरकारका तत्कालिन भौतिक निर्माण तथा योजना राज्यमन्त्री एवं २०६४ सालमा दोलखा क्षेत्र नं. १ बाट निर्वाचित सभासद देवी खड्काको विषेश पहलमा राष्ट्रिय योजना आयोगको रातो कितावमा परेको हाई अल्टिच्युड स्पोर्ट सेन्टर पर्याप्त जग्गा अभावमा निर्माण कार्य सुरु हुन सकेन । विभिन्न खेलका राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडिहरुलाई गृष्मकालिन तालिमको व्यवस्था गर्ने उद्धेश्य राखि निर्माण गर्ने भनिएको सो स्पोर्ट ट्रेनिङ सेन्टर समुन्द्री सतहबाट करिव २५०० मिटर उचाई भन्दा माथि बनाउनु पर्ने र स्वामित्व खेलकुद मन्त्रालयको मातहात रहनुपर्ने वाध्यात्मक अवस्थामा स्थानीयको व्यक्तिगत जग्गा नभएको र बनले आवश्यक जग्गा उपलव्ध नगराएको कारण परियोजना सुरु भएन ।
Ring-road incomplete section (red line) |
२. जिरी रिङरोड
राज्यमन्त्री खड्का कै पालामा जिरी उपत्यकालाई लाई केन्द्रविन्दु बनाई वरिपरी रहेको प्राकृतिक एवं धार्मिक महत्वका अग्ला पर्वतहरुबाट पर्यटकीय सडक (रिङरोड) मार्फत पर्यटकरुलाई अवलोकन गराई जिरीको पर्यटन विकासमा टेवा पुर्याउने योजनामा समेत बन विभागको कारण निर्माण कार्य रोकिएको थियो । खावाबाट हनुमन्ते, ठुलोनागी, कालोभिर, क्याङसे, कुथामे, सिक्री हुदै पुन खावा जोड्ने योजना रहेको रिङरोड निर्माण कार्य कालोभिर सामुदायिक बन र ठुलोनागी सामुदायिक बनक्षेत्र पुगेपछि अलपत्र परेको थियो । करिव ७० प्रतिशत निर्माणकार्य सकिसकिएको जिरी रिङरोड बनको अवरोधका कारण हालसम्म पुर्ण हुन सकेको छैन ।
३. जिरी एयरपोर्ट ः
Jiri Airport (Red line) |
करिव ४ दसक अघि सम्म जिरीमा टुईनेटर विमान चल्थ्यो । २०४३÷४४ सालतिर स्वीस सरकारको सहयोगमा लामोसाँगु जिरी कालेपत्रे सडक निर्माण भएपछि विमान चल्न बन्द भयो । जिरी विमानस्थल हाल पनि छ तर विमान भने आँउदैनन् । २०५१ सालमा भएको नापिको बेलामा तात्कालिन पर्यटन मन्त्रालयको नाममा रहेको जिरी एयरपोर्टको जग्गा कृषि मन्त्रालय अन्तरगत पशु विकास फार्म जिरीको नाममा दर्ता गरियो । विगत लामो समयदेखि जिरी एयरपोर्ट सन्चालनका लागि विभिन्न प्रयासहरु भईरहेका छन् । विगतमा दोलखा जिल्लाकै सांसद आनन्द प्रसाद पोखरेल पर्यटन मन्त्री हुँदा एयरपोर्ट संचालनको लागि अधिकतम प्रयास भएको हो । उहाँ कै पहलमा पर्यटन उड्ययन विभागबाट विज्ञहरु सहितको टोलीले अध्ययन गरेको थियो । विशेष गरि माउन्टेन फ्लाईटको लागि विमानस्थल संचालन गर्ने उदेश्य सहित सिता एयरले सफलतापुर्वक टेष्ट फ्लाईट समेत गरि साप्ताहिक रुपमा २ वा ३ फ्लाईट गर्ने निर्णय गरेको थियो । त्यस्तै गरि पछि अर्का पर्यटन मन्त्री रविन्द्र अधिकारीले समेत एयरपोर्ट संचालन गर्न पहल गर्ने आश्वासन दिएका थिए । तथापी तात्कालिन पशु विकास फार्मको असहयोग र कृषि मन्त्रालयले पर्यटन मन्त्रालयलाई उक्त एयरपोर्ट रहने जग्गाको स्वामित्व दिन नमानेपछि अनेकन क्षेत्रबाट भईरहेको अथक प्रयास व्यर्थ भएको छ । हाल सम्म यो कार्य अगाडी बढेको छैन ।
४. क्षेत्रिय रंगशालाः
३ नं. प्रदेश सरकारले यहि आर्थिक वर्ष २०७५÷०७६ बाट जिरी नगरपालिका भित्र पायक पर्ने स्थानमा क्षेत्रिय रंगशाला निर्माण कार्य सुरु गर्ने योजना तथा कार्यक्रम रहेकोमा नगरले प्रस्ताव गरेको स्थानमा बन कार्यालयले स्वीकृति नदिएपछि उक्त परियोजना नै अन्योलमा परेको छ । यसै आर्थिक वर्षभित्र निर्माण कार्य सुरु गरिसक्नुपर्ने भएतापनि जग्गा अभावका कारण प्रदेश सरकारबाट विनियोजित ३ करोड रकम फ्रिज जाने अवस्थामा पुगेको हो । दोलखा क्षेत्र नं. १ का प्रदेश सांसद विशाल खड्काको विषेश पहलमा प्रदेश सरकारले अगाडि सारेको यस योजना सुरु हुने नहुने ठेगान छैन । जिरी नगरपालिका वडा नं. ६ स्थित ईलाका बन कार्यालय जिरी नजिकै बनकै स्वामित्वमा रहेको स्थानमा यस अघि नगर कार्यसमितिले रंगशालाको लागि स्थान छनौट गरेको भएता पनि मन्त्रालय स्तरिय सम्झौता गर्नुपर्ने र सो को लागि लामो तथा झन्झटिलो प्रकृया भएका कारण यो बर्ष सोहि स्थानमा भने निर्माण सुरु नहुने प्राय निश्चित भएको छ । अर्को बर्ष समेत सोहि योजना पर्ने नपर्ने कुनै ग्यारेन्टी नभए पश्चात हाल नगरपालिकाले जिरी प्राविधिक शिक्षालय भन्दा केहि तलको खालि स्थानमा निर्माण गर्ने योजना सहित प्रक्रिया अगाडी बढाएको छ ।
स्थानीयबासी आक्रोशित बन्दै :
जिरी भित्रेका विभिन्न आयोजना, परियोजना तथा अन्य विकास निर्माणका कामहरु पर्याप्त जग्गा अभावमा एक पछि अर्को गर्दै बाहिरिन थालेपछि स्थानीयहरु आक्रोसित बन्न थालेका छन् । आवश्यकता भन्दा बढि जमिन ओगटेको तर खासै राम्रो काम र प्रगति गर्न नसकेको बरु उक्त संस्थाहरुको क्रियाकलापहरु अपारदर्शी रहेको भन्दै उक्त संस्थाहरुको औचित्य र कार्यशैली माथि नै असन्तुष्टिका स्वरहरु उठ्न थालेको छ । स्थानीयको आवश्यकता र विकासको अभियानलाई ब्रेक लगाउने यस्ता संस्थाहरु जनमैत्री नभएको गुनासो यत्रतत्र सुनिन थालेको छ । विकास निर्माणका कार्यहरुमा यस्ता अवरोधहरु बारम्बार भईरहेमा जिरीको विकासका जुनसुकै मुल्य चुकाउन पनि पछि नपर्ने भन्दै स्थानीयले चासो लिन थालेका छन् ।
जिरीमा राम्रो काम केहि पनि हुन दिदैन,किन होला तेसैले अब सबै जिरी बशी मिलि तेस्तो संस्था ,सरकारी कार्यालय को बिरोधमा उत्रनु पर्छु ।
ReplyDelete