Saturday, June 1, 2019

Jiri Technical School ! Building handover Program !!

जिरी प्राविधिक शिक्षालयको नवनिर्मित भवन हस्तान्तरण





दोलखाको पर्यटकीय नगरी जिरीमा स्वीट्जरल्याण्ड सरकारको सहयोगमा नवनिर्मित जिरी प्राविधिक शिक्षालय (जेटिएस) को भवन स्वीस राजदुत मार्फत हस्तान्तरण गरिएको छ । राजदुत एलिजावेथ भोन क्यापलर ले शिक्षालय परिसरमा निर्मित स्तम्भको उद्घाटन गर्दै प्रतिकात्मक साँचो शिक्षालय प्रमुखलाई हस्तान्तरण गरेपछि औपचारिक कार्यक्रम सुरु भएको थियो । हस्तान्तरण कार्यक्रमा बोल्दै स्वीस राजदुत ले जिरी र स्वीस सरकार विचको लामो सहकार्यको स्मरण गर्दै त्यसैको निरन्तरता स्वरुप यो कार्यक्रम आएको बताउनु भयो । उहाँले दिगो र स्थाई विकासका लागि प्राविधिक तथा व्यवसायिक शिक्षाको अत्यन्त महत्वपूर्ण भुमिका रहने बताउँदै स्वीट्जरल्याण्डको विकासका पछाडी त्याँहाको सरकारको ८० प्रतिसत शैक्षिक लगानी प्राविधिक तथा व्यवसायिक शिक्षामा रहेको बताउनुभयो । हाल नेपाल सरकारको शैक्षिक निति पनि यसै तर्फ लक्षित रहेको उल्लेख गर्दै विभिन्न पालिकाहरुले एकिकृत रुपमा यस्ता शिक्षालयहरु संचालन गर्नुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा बोल्दै प्राविधिक तथा व्यवसायिक तालिम परिशद CTEVT का उपकुलपति डा. कुल बहादुर बस्नेत ले प्राविधिक तथा व्यवसायिक शिक्षाका क्षेत्रमा स्वीस सरकारको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो । उहाँले स्वीस सरकारको सहकार्यमा CTEVT ले विभिन्न मोडलहरुमा देशका विभिन्न क्षेत्रमा छोटो तथा लामो अवधिका कार्यक्रम एवं तालिमहरु संचालन गरिरहेको बताउनुभयो । साथै उहाँले जिरी प्राविधिक शिक्षालयको गुरु योजना अनुरुप थोरै काम मात्र सम्पन्न भएकोले बाँकी कामका लागि समेत स्वीस सरकारलाई सहयोगको लागि अनुरोध गर्नुभयो ।
त्यस्तै जिरी नगरपालिकाका नगरप्रमुख टंक जिरेल ले आफुहरुले अघि सारेको Clean Jiri, Green Jiri, Organic Jiri अभियानमा प्राविधिक शिक्षालयको महत्वपूर्ण भुमिका रहने बताउनुभयो । यसका लागि जिरी नगरपालिका सदैव प्राविधिक शिक्षालयसंग समन्वय गर्न तयार रहेको पनि बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल ले प्राविधिक शिक्षालयको शैक्षिक तथा व्यवस्थापकीय पक्षमा केहि सुधारको आवश्यकता रहेको उल्लेख गर्दै त्यस तर्फ सवै सरोकारवालाहरुको ध्यानाकार्षण हुनुपर्नै बताउनुभयो । कार्यक्रममा जिरी प्राविधिक शिक्षालयका प्रमुख विष्णुहरी अधिकारी ले शिक्षालयको वतर्मान अवस्थाको जानकारी गराउनुको साथै उपस्थित पाहुनाहरुलाई शिक्षालयको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो । सोहि अवसरमा स्वीस राजदुत शिक्षालयको तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको थियो ।

२०७२ सालको विनाशकारी भुकम्पपछि स्वीस सरकारको रु ९ करोड ११ लाख रुपैयाँ सहयोगमा स्वास्थ्य, निर्माण र कृषि बिभागका ३ ओटा एकेडेमीक विल्डिङ, १२ कोठे ३ ओटा गल्र्स होस्टल र एउटा आईटि विल्डिङ गरी ७ वटा भवन निर्माण भएको छ । साथै स्वीस सरकारकै रु १ करोड १६ लाख रुपैयाँ लागतमा २ ओटा पक्की पुल र शिक्षालय परिसर भित्र सडक समेत निमार्ण भएको छ । 
भुकम्पपछि अस्थायी टहरामा पठनपाठन भइरहेकोमा भवन निर्माण भए पश्चात आगामी शैक्षिक सत्रबाट नै नयाँ भवनमा सरी पठनपाठन सुरु गर्ने जेटिएसले जनाएको छ । जेटिएसमा हाल डिप्लोमा लेभलमा ओभरसिएर, कृषि विज्ञान र पशु विज्ञान तथा प्राविधिक एसईई तर्फ कृषि बाली विज्ञान जेटिए, पशु विज्ञान जेटिए तथा सव ओभरसिएर र अनमी गरी ४ वटा विषयमा पढाई भइरहेको छ । 

No comments:

Post a Comment