Monday, January 23, 2012

नेपाल पर्यटन वर्ष २०११ मा करिव ३ हजार पर्यटकले जिरी घुमे

नेपाल पर्यटन वर्ष २०११ मा करिव ३ हजार पर्यटकले जिरी घुमे

      दश लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर नेपाल सरकारले मनाएको पर्यटन वर्ष २०११ मा नेपाल आएका करिव सात लाख पर्यटक मध्ये २९४४ जना पर्यटकले (भारत वाहेक) दोलखाको सुन्दर पर्यटकीय नगरी जिरीमा पाईला राखेका छन् । अघिल्लो वर्षको तुलनामा जिरी आउने पर्यटकको संख्यामा केहि वृद्धि भएतापनि पर्यटन वर्षले लक्षित गरेअनुरुपमा जिरीले पनि पर्यटक भित्र्याउन सकेन । ईलाका प्रहरी कार्यालय जिरीको तथ्याङ्क अनुसार जिरी आएका कुल पर्यटक मध्ये ९२० जना (३१.२५%) महिला र २०२४ जना (६८.७५%) पुरुष रहेका छन् । पर्यटन वर्षमा जिरी आएका पर्यटक मध्ये अधिकांश युरोपेली मुलुकका रहेका छन् । फ्रान्स, वेलायत, स्पेन, जर्मनी, स्वीट्जरल्याण्ड, ईटली का पर्यटकहरु उल्लेखिय मात्रामा देखिएको थियो भने अमेरिकी र क्यानेडियन नागरिकहरुको पनि उल्लेखनिय उपस्थिति रहयो । अस्ट्रेलिया र न्यूजिल्याडका पर्यटहरुको पनि राम्रै चाप देखिएको यो वर्षमा एसियाली देशहरु कोरिया र चिन बाहेक अन्यको जिरीमा खासै पाईला परेन ।
जिरी आएका पर्यटकहरु मध्ये २० देखि ४० वर्ष उमेर समुहका पर्यटकहरुको संख्या अधिक रहेको तथ्याङ्कले देखाएको छ । त्यस्तै ४० देखि ६० उमेर समुहका पर्यटकहरुको संख्या पनि उल्लेख्य मात्रामा रहेको छ भने ६० वर्ष भन्दा माथिका पर्यटकहरुको संख्या तुलनात्मक रुपमा केहि कम रहेको छ (हे.तस्वीर) । ई.प्र.का. जिरीमा अभिलेखित तथ्याङ्क अनुसार संयूक्त अधिराज्यका एन्ड्रयु रकस्टार ९ब्लमचभध च्यअपकतबच० पर्यटन वर्ष २०११ मा जिरी आउने सवैभन्दा पाका पर्यटकको सुचिमा  परेका छन् । तथ्याङ्ककमा उल्लेख गरिए अनुसार उनको उमेर ८१ वर्षको रहेको छ ।
जिरी प्रवेश गरेका अधिकांस पर्यटकहरुको गन्तव्य सगरमाथा आधार सिविर रहेको तथ्याङ्ककमा उल्लेखित “पर्यटकहरुको गन्तव्यस्थानको” मा उल्लेख गरिएको छ । करिव ९० प्रतिशत पर्यटक जिरी हुँदै सगरमाथा आधार सिविर तर्फ प्रस्थान गरेको देखिन्छ । अधिकांस पर्यटकहरु बसवाटै सिधै शिवालय तथा बाम्ती भण्डार जाने गरेको र थोरै पर्यटकहरुले मात्र जिरीबाट पदयात्रा सुरु गर्ने गरेको स्थानीय होटलवालाहरुको भनाई रहेको छ ।
बाँकी करिव १० प्रतिशत पर्यटकहरु मध्ये ४ प्रतिशत पर्यटक गोक्यो, नुम्वुर तथा अन्य क्षेत्रमा गएका थिए भने जिरीमात्र घुम्न आउने पर्यटकहरुको संख्या करिव ६ प्रतिशत मात्र रहेको छ । आफ्नो गन्तव्यलाई जिरी वनाएका पर्यटकहरुको वसाई पनि सामान्यतया (केहि बाहेक) एक रात भन्दा वढि रहेन यो वर्ष । पर्यटकीय पूर्वाधारको कमी, जिरीमा भएको धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको कम प्रचारप्रसार, पर्यटन सुचना केन्द्रको अभाव आदि कारणले गर्दा सोचेअनुरुपको पर्यटक जिरीमा भित्राया्उन नसकिएको दोलखा उद्योग वाणिज्य संघ जिरी शाखाका अध्यक्ष मधु कुमार कार्कीले वताउनु भयो । पर्यटकहरुलाई केहि दिनको प्याकेज वनाई जिरीका विभिन्न पर्यटकीय स्थलहरुमा घुमाउन सके जिरी आउने पर्यटकको संख्यामा वृद्धि हुनुका साथै स्थानीय स्तरमा समेत पर्यटनबाट फाईदा लिन सकिने वहाँले वताउनु भयो । जिरी वाट पदयात्रा मार्फत सगरमाथा क्षेत्र प्रस्थान गरेका प्राय सवै पर्यटकहरु फर्कने क्रममा लुक्ला, स्याङ्गवोचेवाट हवाईजहाज मार्फत सिधै काठमाण्डौ जाने गरेकाले जिरीले पर्यटन वाट खासै फाईदा लिन नसकेको स्थानीय पर्यटन व्यवसायीहरु वताउछन् ।

पर्यटकीय नगरी जिरीमा आउने पर्यटकको यकिन संख्या मापन गर्ने कुनै आधिकारीक निकाय छैन । ई.प्र.का. जिरीले सुरक्षाको कारण आफ्नै प्रयोजनका लागि राख्ने गरेको अभिलेखलाई नै आधिकारीक तथ्याङ्क मानिएको छ । प्रत्येक पर्यटकको विवरण रजिस्टरमा लेख्नुपर्दा धेरै भद्घा भई च्यातिने, हराउने तथा फोहोर हुने समस्याले पुराना वर्षहरुको अभिलेख राख्न समस्या परेको ई.प्र.का. जिरीका प्रहरी निरिक्षक केशव कुमार शाहले वताउनु भयो । कम्प्यूटर प्रणालीको जडान गरि सफ्टवयर मार्फत पर्यटकको विवरण राख्न सकेमा तथ्याङ्कहरु चाहेको वेला तुरुन्तै प्राप्त गर्न सकिने भएकोले आफुले त्यसतर्फ सम्वन्धित निकायमा पहल गरिरहेको जानकारी दिनुभयो ।