भुकम्पले क्षतिग्रस्त जिर्ण भवनमा नियमित पठनपाठन, हुन सकेन रेट्रोफिटिङ
१० वर्षे महान जनयुद्ध, २०६२÷०६३ को जनआन्दोलनको जगबाट नेपालमा गणत्रन्त्र स्थापना भए पश्चात नेपाल सरकारको पुर्ण अनुदानमा सहिद, बेपत्ता, घाईते, अपाङ्ग र बन्दी परिवारका बालबालिकाहरुलाई आधारभुत तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने अभिप्रायले द्वन्दपिडित शिक्षा कार्यक्रम अन्तरगत २०६६ सालमा तात्कालिन मध्यामञ्चल विकासक्षेत्र भित्रका १९ जिल्ला र पूर्वाञ्चल बिकासक्षेत्रका २ जिल्ला गरि २१ जिल्लाका सम्वन्धित विद्यार्थीहरुलाई आवासिय सुविधा सहित पठनपाठनको व्यवस्था गर्ने उदेश्य सहित श्री सहिद स्मृति आवासिय माध्यामिक विद्यालय, जिरी स्थापना भएको हो । माथि उल्लेखित परिवारका बालबालिका सहित यस विद्यालयमा २०७२ सालको भुकम्पमा परि बुवा आमा गुमाएका, लोपोन्मुख, अति सिमान्तकृत, दलित विपन्न परिवारका बालबालिकाहरुलाई आवासिय सुविधा सहित स्थानीय विद्यार्थीहरुलाई निशुल्क रुपमा अध्यापन गराउदै आईरहेको छ ।
यस्तो महत्वपुर्ण ईतिहास र विशिष्ट पहिचान बोकेको विद्यालयको शैक्षिक स्तर सन्तोषजनक भएतापनि भौतिक अवस्था भने अत्यन्तै दयनिय रहेको छ । २०७२ सालको भुकम्प पछि क्षतिग्रस्त भवनहरु अझै पुनः निर्माण हुन सकेको छैन । विद्यालयको मुख्य भवन जहाँ कक्षा १ देखि कक्षा १० सम्म पठनपाठन हुने गर्छ अत्यन्तै जिर्ण र जोखिम अवस्थामा छ । भुकम्पका कारण १८ कोठे पक्की तिन तले भवनको भुई तलाको दुई ओटा पिलरमा क्षति पुगेपछि र पर्खालका भित्ताहरु चर्किएपछि अनुगमनको क्रममा असुरक्षितमा वर्गिकरण गरि रातो स्टिकर समेत टाँसिएको थियो । तत्कालका लागि अस्थाई टहरा निर्माण गरि कक्षा संचालन गरिएता पनि हाल टहराहरु समेत भत्किसकेकाले पुनः सोहि जोखिम भवनमा कक्षा संचालन भईरहेका छन् ।
जिरी नगरपालिका र ESET को सहयोगमा करिब २ वर्ष अगाडी रेट्रोफिटिङको डिजाईन स्टिमेट तयार गरेको भएतापनि बजेट अभावका कारण हालसम्म कुनै प्रक्रिया अगाडी वढेको छैन । जसका कारण विद्यालयका २६४ जना विद्यार्थी र १६ जना शिक्षक कर्मचारी ठुलो जोखिम मोल्दै अध्ययन अध्यापन गर्दै आईरहेका छन । भुकम्प प्रभावित क्षेत्रका अधिकाँस विद्यालय तथा शैक्षिक संस्थाहरु पुननिर्माण भईसकेका र केहि निर्माणको अन्तिम चरणमा पुगेका बेला यस विद्यालयको अवस्था भने बेहाल छ । भुकम्प पश्चात उक्त भवनको रेट्रोफिटिङको लागि बिभिन्न निकाय र उच्च पदस्थ व्यक्तित्वहरुबाट धेरै आश्वासन भने नआएका हैनन् तर पनि प्रगति भने शुन्य छ ।
गतवर्ष मात्र जिरीको तिन दिने जिरी भ्रमणका बेला प्रदेश नं. ३ का मुख्यमन्त्री, अर्थमन्त्री लगायतको जम्बो टोलिले यस विद्यालयको समेत अवलोकन गरि सम्पुर्ण विद्यार्थी, शिक्षक र स्थानियलाई सम्बोधन गर्दै विद्यालयको निर्माण र सन्चालनको जिम्मा प्रदेश सरकारको हो भन्ने उद्घोष गर्दै रेट्रोफिटिङको लागि तत्काल प्रदेशमा फाईल लिएर आउन सुझाव दिए । विद्यालयले पनि तत्काल प्रक्रिया अगाडी बढायो तर पनि सफल हुन सकेन । आर्थिक वर्ष सकियो तर बजेट आएन । त्यतिमात्र होईन यसै आर्थिक वर्ष २०७६÷०७७ मा पनि विद्यालय प्रशासनले उक्त भवन रेट्रोफिटिङको लागि बजेट विनियोजन गरिदिन निकै दौडधुप गर्यो तर प्रदेशको कार्यक्रममा यस वर्षपनि यो समस्या प्राथमिकतामा परेन । त्यसो त यसै विद्यालय अवस्थित दोलखा क्षेत्र नं. १ का साँसद विशाल खड्का आफै विद्यालय गुठि संचालक समितिका अक्ष्यक्ष हुन । यद्यपी विद्यालय भवन निर्माणका लागि उनकै पहलकदमी पनि पर्याप्त रहन सकेन । फलतः अहिलेको मिति सम्म भत्कन लागेको जिर्ण भवनबाट गुणस्तरीय शिक्षा प्रदान भईरहेको छ । यो विद्यालय विषेश प्रकारको हो । यहाँ देशकै महान सपुतहरुको सन्तानहरुले अध्ययन गर्दछन्, यसको वृद्धि र विकासको लागि हामि जस्तोसुकै कदम चाल्न तयार छौ भन्दै कुर्लने देखि सहिदका छोराछोरीको अगाडि आएर कठै भन्दै गोहिको आँशु झार्नेहरुको पनि कुनै कमि छैन । पुर्व प्रधानमन्त्री देखि मन्त्री, शाँसद, र उच्च पदश्त व्यक्तित्वहरुको पदछाप विद्यालयले ग्रहण गरिसकेको छ तथापी आश्वासनका पोका बाहेक विद्यालयले खासै अरु पाउन सकेको छैन ।