Thursday, January 31, 2019

WORLD'S TALLEST HANUMAN STATUE WILL BE CONSTRUCTED AT "HANUMANTE HILL"

केन्द्रज्योति खड्का
समुन्द्री सतहवाट ३०५० मिटरको उचाइमा अवस्थित हनुमन्ते पर्वत भौगोलिक हिसाबले दोलखा जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्दछ । जिरी नगरपालिका, गौरिशंकर गाँउपालिका र हनुमन्तेश्वर गाउँपालिकाको सिमाक्षेत्रमा फैलिएको हनुमन्ते पर्वत श्रृंखला प्राकृतिक रुपमा मात्र नभई धार्मिक दृष्टिकोणले समेत निकै महत्वपूर्ण रहेको छ । प्रशिद्ध गौरिशंकर हिमाल लगायत रोल्वालिङ हिमश्रृंखलाको दर्जन बढी हिमालहरुको प्रत्यक्ष अवलोकन गर्न सकिने यस पर्वतबाट पूर्वमा नुम्बुर हिमाल र पश्चिममा गणेश हिमाल, लाङटाङ हिमाल लगायत चिनतर्फका समेत अधिकांस हिमालको तथा उच्च पहाडहरुको दृष्याबलोकन गर्न सकिन्छ । प्रशिद्ध कालिन्चोक भगवती, भिमेश्वर मन्दिर, च्योर्दोङ्ग, महाभारत पर्वतमालाको सबैभन्दा उच्च टाकुरा शैलुङ लगायत दोलखाको करिव ९० प्रतिशत भुभाग सहित रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, रसुवा, ओखलढुङ्गा, सिन्धुली र सोलुखुम्बुको केहि उच्च भुभागहरु एकै स्थानमा बसेर देख्न सकिन्छ । 

हनुमन्ते पर्वतको धार्मिक महत्व ः 
हिन्दु धार्मिक ग्रन्थ रामायणका अनुसार महापुरुष रामकी श्रीमति सितालाई लंकाका राजा रावणले हरेर लगेपछि भएको युद्धमा रावणले प्रहार गरेको व्रम्हाअस्त्र रामका भाई लक्ष्मणलाई लागेपछि मृत्युशैयामा चिच्याईरहेका उनको उपचार संजिवनी वुटिको रसले मात्र गर्न सक्ने लंकाका वैद्यहरुले (प्रमुख बैध सुनैना भनि उल्लेख गरिएको) वताए पछि हनुमान उक्त संजिवनी वुटि खोज्न हिमालय पर्वत तर्फ गएको रामायणमा उल्लेख छ । हिमालय पर्वतमा उपचारका लागि चाहिने संविजनी वुटि चिन्न नसकेपछि उनले एउटा सिङ्गो पहाड नै वोकेर ल्याएको प्रशंग पनि उक्त ग्रन्थमा उल्लेख गरिएको छ । तथापी हिमालाय श्रृङखलाको कुन क्षेत्रवाट उक्त पहाड ल्याएको भन्ने वारेमा अर्थात उक्त पहाडको नामको वारेमा भने न त रामायणमा नै उल्लेख गरिएको छ न त अन्य कुनै प्राचिन ग्रन्थहरुमा । हालसालै केहि भारतीय पुस्तक, पत्रपत्रिका र वेभसाइटहरुमा उक्त संजिवनी वुटियुक्त पर्वत उत्तराखण्डको द्रोणागिरी पर्वत रहेको भनि दाबि गरिरहेका छन् र सोहि अनुरुप प्रचार प्रसार गरिरहेका छन् । हिमालयको भौगोलिक वर्गिकरण अनुसार चुरे पहाड भन्दा माथिको भागलाई हिमालय भनिन्छ । सामान्यतया समुन्द्री सतहवाट २१०० मिटर देखि ८८४८ मिटर सम्मको चुरे पर्वतको फेददेखि तिव्वतीयन पठार सम्मको उत्तर दक्षिण भुभाग  र भुटान देखि अफ्गानिस्तान सम्मको २४०० किलोमिटर पूर्व पश्चिम क्षेत्र हिमालय भित्र पर्दछ । जस अनुसार हिमालयको करिव दुई तिहाई भुभाग नेपाल भित्र पर्दछ । यस अर्थमा हनुमानले हिमालयबाट लगेको भनिएको पर्वत भारतको द्रोणागिरी नभई नेपालतर्फको क्षेत्रमा समेत भएको हुनसक्ने आधारलाई नकार्न सकिन्न । भारतको आक्रमक प्रचारको प्रभाव र नेपालको न्युन खोज, चासो एवं अनुसन्धानका कारण ऐतिहासिक दस्तावेज गलत भईरहेको हुन सक्छ । 
नेपालको मात्र सन्दर्भ हेर्ने हो भने दोलखा जिल्लाको हनुमन्ते भन्दा अन्य कुनै पहाड हनुमानको नाम वा प्रशंगसंग जोडिएको भेटिदैन । गुगल, विकिपेडिया तथा अन्य सर्च ईन्जिनहरुमा मा खोजी गर्दा समेत हालको प्रस्तावित स्थान बाहेक अन्यत्र उक्त नाम उल्लेख गरिएको छैन । हनुमन्ते पर्वतसंग सम्वन्धित अन्य तथ्य, पुरातात्वीक प्रमाण एवं प्राचिन किम्बदन्तीहरु हेर्ने हो भने हनुमानले वोकेको संजिवनी पर्वत यहि हुनसक्ने प्रशस्त आधारहरु छन् । हनुमन्ते वरीपरि रहेका गुफा तथा पहराहरुमा रहेको अनेकौं आकृति तथा चिन्हहरु जस्तै हनुमानको हातको पञ्जाको छाप, खुट्टाको पञ्जाको छाप आदिले हनुमन्तेको केहि नै केहि सम्वन्ध हनुमानसंग रहेको अनुमान गर्न सकिन्छ । फेदबाट करिव २०० मिटर अग्लो चट्टानको विचमा अवस्थित हनुमानको पूर्णकदको चिन्ह (शरिरको आकृति) मल्लकालिन समयमा कसैले चट्टान नै काटेर लगि (हाल उक्त स्थानमा धारिलो वस्तुले चट्टान काटिएको दाग मात्र देख्न सकिन्छ) नयाँ मुर्ति राखिदिएको भनाई छ । उक्त मुर्ति समेत केहि वर्ष अगाडि नेपाल टेलिकमको टावर बनाउने क्रममा हराएको स्नानीयको भनाई छ । स्थानीयको पहलमा हाल एउटा सानो हनुमानको प्रतिमा भने केहि माथि डाँडामा (हालको प्रस्तावित निर्माणस्थलमा) रहेको छ । माथि उल्लेखित विविध कारणले गर्दा यो क्षेत्र परापूर्वकालदेखि नै निकै महत्वको स्थान रहेको अनुमान गर्न सकिन्छ । तथापी यसका सम्वन्धमा थप अध्ययन अनुसन्धान गर्न भने जरुरी छ । 
हनुमन्तेको विशाल पहराको फेदमा रहेको सानो गुफामा रहेको सिवलिङ्ग आकारको शिला र त्यसमाथि वाट गाईको चारवटा थुन जस्तो आकार भएको चट्टानवाट झरिरहेको सेतो दुध जस्तो तरल पदार्थले सवैलाई आश्चर्यमा मात्र पार्दैन धार्मिक विश्वास नभएकाहरुलाई समेत विश्वासको आधार प्रस्तुत गरेको छ । उक्त शिवलिङ्गको छेउमै रहेको सानो कुवामा वाह्रै महिना पानी जम्मा भईरहन्छ । हनुमन्ते पर्वतको जिरी तर्फको क्षेत्रमा विशाल चट्टानमुनी ठुलो ओडार रहेको छ । ओडारको भित्रि भागमा महादेवको शिला रहेको छ जस्लाई मन्दिरको रुप दिईएको छ । करिव २०० जना सजिलै अट्न सकिने उक्त ओडारका भित्ताहरुमा विभिन्न जनावरहरुको आकृति तथा चिन्ह देख्न सकिन्छ भने मन्दिरको छेउमा रहेको कुवामा रगत जस्तो रातो पानि जमेको देख्न सकिन्छ । उक्त कुवाको पानि छोईएमा घरपरिवारमा अनिष्ट हुने किवंदन्ती रहेको छ । पहिले पहिले घना जंगल हुदाँ उक्त ओडारमा बाघ, भालु जस्ता जंगली जनावरहरु वस्ने गरेको स्थानीय वृद्धहरु वताउछन् ।

हनुमन्ते पर्वतमा विश्वकै सबैभन्दा अग्लो हनुमानको प्रतिमा स्थापना गरिने 
दोलखा जिल्लाको प्रशिद्ध पर्यटकीय स्थल मध्येको एक हनुमन्ते पर्वतमा पवित्र हिन्दु धार्मिक ग्रन्थ रामायणका महत्वपूर्ण पात्र हनुमान (रामका सेवक तथा वलवानको उपनामले चित्रित गरिएको) को पुर्ण कदको विश्वकै सबैभन्दा अग्लो हनुमानको प्रतिमा स्थापना गरिने भएको छ । ३ नं. प्रदेश अन्तरगत दोलखा जिल्लाको छुट्टै प्राकृतिक, धार्मिक एवं एतिहासिक महत्व रहेका कारण नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य लिएको प्रदेश सरकारले यो अर्को महत्वकाँछी योजना अघि सारेको हो । हनुमानको प्रतिमा स्थापनाको लागि ३ नं. प्रदेशले यसै आफ्नो आवधिक योजना तथा कार्यक्रममा समाबेश गरि यसै आर्थिक वर्षदेखी सुभारम्भ गर्ने लक्ष्य लिएको छ जसको लागि प्रदेश सरकारले गृहकार्य सुरु गरिसेकेको छ । दोलखा क्षेत्र नं. १ का प्रदेश सांसद विसाल खड्का सहितको प्राविधिक टोलीले गत महिना परियोजना निर्माण स्थलको निरिक्षण गरि प्रारम्भिक प्रतिवेदन बुझाउने तयारी समेत गरिरहेको छ । हालसम्म विश्वको सवैभन्दा अग्लो हनुमानको प्रतिमा भारतको आन्द्रा प्रदेश राज्यको मादपम भन्ने स्थानमा रहेको छ जुन १७६ फिट अग्लो छ । 
पर्यटन विकासको सम्भावना ः
हनुमन्ते र आसपासका क्षेत्रहरुमा धार्मिक पर्यटन र दृष्यावलोकनका अलवा अन्य पर्यटन संग सम्वन्धित विविध गतिविधिहरु संचालन गर्न सकिन्छ । उच्च पहाडी बातावरण, घना जंगल र ओषिलो हावापानी भएको यस हनुमन्ते पर्वत क्षेत्रमा लोठ सल्ला, धुपी, सुनपाती, जटामसी, पाखनबेद लगायतका प्रशस्त बहुमुल्य जडिबुटिहरु पाईन्छ । विशेष गरि ओसीलो चट्टानी भुभागमा पाईने रामायाण ग्रन्थमा उल्लेखित संविबनी बुटि अर्थात नागबेली प्रजाति अन्तरगतको सिजेलिना ब्रायोप्टिस ९क्ष्नभभिलब दचबथयउतष्क० पनि यस क्षेत्रमा पाईन्छ । विशेष गरि हिमालय पर्वतमालामा पाईने सो बनस्पति नेपाल, भारत, भुटान, पाकिस्तान लगायतका देशहरुमा समुन्द्री सतहबाट करिव १५०० सय देखि ३५०० मिटरसम्म हुने गरेको छ । विशेष गरि संजीवनीलाई स्नायुप्रणालीका जटिल समस्या समाधान गर्ने ओखतीको रुपमा लिईन्छ । भारतमा पतञ्जली योग पिठले पेटको रोग, मुटु सम्वन्धि रोग र रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी बनाउन प्रयोग गर्दै आएको छ । नेपालमा पनि संजीवनि लगायत अन्य जडिबुटीहरुको पहिचान, संरक्षण, व्यवसायिक खेति र प्रसोधन समेत गर्न सकेमा प्रशस्त आयआर्जन गर्नुको साथै पर्यटकहरुलाई थप आर्कषण गर्न सकिन्छ । 
यस क्षेत्रको पर्यटन विकासका लागि अर्को सम्भाव्यता भनेको पदयात्रा हो । कोणधारी घना जंगल र विचविचमा रहेका स₋सना खुला चौरहरुले पदयात्रालाई रोमान्चक बनाउँछ । जंगलको विचबाट यात्रागर्दा चल्ने शितल हावा, कालिज, डाँफे, मुनाल, कोईली जस्ता चराचुरुङ्गीको सुमधुर आवाज र जम्काभेट हुनसक्ने हिमाली भालु, चितुवा, मृग, थार लगायतका जंगली जनावर र चौंरी गाईको बथानले पर्यटकलाई थप उत्साहित पार्न एवं मनोरन्जन दिन सक्छ । पदयात्राको लागि करिव २७०० मि उचाईमा रहेको जिरी नगरपालिकाको प्रबेशद्वार खावाडाँडाबाट उत्तरतर्फ करिव १ घण्टा उकालो चढ्नुपर्छ । भर्खरैबाट खावाडाँडाबाट हनुमन्तेको फेद मेले (मेलेबाट हनुमन्ते पुग्न करिव १५ मिनेट) भन्ने स्थान सम्म साना चारपाग्रें सवारी साधन समेत जान सक्छन् । त्यसैगरि जिरी वजारबाट हनुमन्ते पुग्नको लागि बुद्धपार्क, बुलडाँडा, गुराँसपार्क हुँदै ठुलोनागीको पदमार्ग प्रयोग गर्नुपर्छ । हाल गुराँसपार्क सम्म सडक संजाल पनि जोडिसकिएको छ तथापी पदयात्राबाट प्राप्त हुने रमाईलो अवसरबाट भने बन्चित हुनुपर्छ । पदयात्राका क्रममा हनुमन्ते नपुग्ने बेलासम्म देखिने हिमाल, पहाड तथा आर्कषक भुबनोटहरुले पर्यटकको मन लोभ्याईरहन्छ । हनुमन्ते पदयात्राका लागि दुबैतर्फका मार्गहरु उपर्यूत र सहज छन् तर समय भएमा एकतर्फबाट उक्लने र अर्कोतर्फबाट ओर्लने गर्नु अझ उत्तम हुनेछ ।     
डाउन हिल साईकिलङ अर्को सम्भावनाको क्षेत्र हो । हनुमन्तेबाट खावा हुँदै जिरी बजार वा ठुलोनागी हुँदै गुराँसपार्क, बुलडाँडा, बुद्धपार्क, हाटडाँडा हुँदै जिरी बजार सम्म साईकिल्ङ गर्न सकिन्छ । हनुमन्तेबाट ओरालो लागेपछि पहिले घना जंगल, विचविचमा रहेका साना चौरहरु छिचोल्दै र केहि बस्ति पार गर्दे करिव १५ कि.मि ओराले झरेपछि जिरी बजार पुगिन्छ । खावाबाट जिरी बजारसम्म १२ कि.मि. कालोपत्रे सडक भएकाले साईकलको लागि खावातर्फको ट्रयाक केहि सहज छ । ठुलोनागी तर्फको ट्रयाकबाट भने करिव १० कि.मि कच्चि बाटो तय गर्नुपर्ने हुन्छ । यो बाटो सहासिक साईकिल्ङको लागि उपयूक्र्त हुनसक्छ । यो यात्रामा साईकलयात्रीले ३०३० मिटर उचाईमा रहेको हनुमन्तेबाट १९०५ मिटरको उचाईमा रहेको जिरी बजारमा पुग्दा करिव ११०० मिटर वढि ओरालो र्झनुपर्दछ । खावाको ट्रयाक हुँदै हनुमन्ते सम्म जिप मार्फत साईकल लग्ने र गुराँसपार्क हँुर्द साईकलमा झर्ने सबैभन्दा उत्तम विकल्प हुन सक्छ ।    
हनुमन्ते पर्वत कै छेउमा (करिब १ कि.मि.) अर्को उत्तिकै अग्लो डाँडा ठुलोनागी रहेको छ । स्थानीय शेर्पा भाषामा नागीको अर्थ चौर हो । यहाँ करिब ५०० रोपनी भन्दा बढी नाङ्गो चौर रहेको छ र माथी टाकुरा रहेको छ । ठुलोनागीको पनि आफ्नै  ऐतिहासिक महत्व रहेको छ । नेपालमा बाईसे चौविसे राज्यहरु हुदाँ उक्त स्थानमा ठुलो दरवार रहेको भनाई छ । किराँतीहरुले राज्य गरेको जिरीमा उनिहरुले शत्रुहरुले आक्रमण गर्ने डरले तथा कतावाट दुश्मनहरु आएको छन भनि हेर्न सजिलो होस भन्ने हेतुले राजमहल भने ठुलोनागीको डाँडामा वनाएका थिए रे । पृथ्वी नारायण शाहाले नेपाल एकिकरणको क्रममा उनिहरुलाई परास्त गरेपछि उक्त दरवार पनि भत्काईदिएको वुढापाकाहरुको भनाई रहेको छ । हनुमन्ते र ठुलोनागी टाकुराको विचमा करिब ४०० मिटर गहिरो खोंच रहेको छ । यदि उक्त दुई टाकुरालाई कुनै आर्कषक पुलको माध्यामबाट जोड्न सकेमा उक्त पुलमाथि साहसिक पर्यटन जस्तै पदयात्रा वा साईक्लिङ वा सोहि पुलको कुनै उपर्यूक्त स्थानबाट बन्जिजम्प पनि गर्न सकिन्छ । ठुलोनागीबाट नै जिरी बजारसम्म वा वुद्धपाक सम्म प्याराग्लाईडिङ समेत गर्न सकिन्छ ।
निश्कर्ष ः
यति धेरै पौराणिक कथा तथा प्राप्त प्रमाणहरुका बावजुत पनि धार्मिक क्षेत्र हनुमन्ते अझै ओझेलमा नै परिरहेको छ । यस संग सम्वन्धित पौराणिक किवंदन्ती, ईतिहास तथा यस क्षेत्रका प्रमाणहरुलाई एकिकृत गरी गहिरो अध्ययन र अनुसन्धान गर्न सकेमा जिरी नगरपालिका, गौरिशंकर गाँउपालिका वा बैत्यश्वर गाँउपालिका मात्र हैन समस्त दोलखाली र नेपालीहरुकै लागि फाईदाको विषय वन्न सक्छ । संरक्षणको अभाव र वेवास्ताको कारण यस्तो महत्वपूर्ण ठाँउको महत्वपूर्ण प्रमाणहरु नासिने अवस्थामा छन् । ईतिहासका विविध कालखण्डहरुमा यस क्षेत्रका प्रमाणहरु चोरी भईरहेको अवस्थामा यसको रेखदेख गर्नु पर्ने टड्कारो आवाश्यकता देखिएको छ । झ्याउ, लेउ, झार हरुले समेत यहाँका चट्टानमा रहेका ऐतिहासिक प्रमाणहरुलाई नष्ट गरिरहेका छन् । पुरातात्विक तथा धार्मिक महत्व वोकेको हनुमन्तेको वेलैमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न सके यो क्षेत्र अन्तराष्ट्रिय रुपमा नै चर्चित वन्ने छ र धार्मिक पर्यटनको लागि विशेष गन्तव्य वन्न सक्ने छ । विसेष गरि भारत र अन्य हिन्दुधर्मालम्वीहरुको प्रमुख गन्तव्य हुनसक्छ हनुमन्ते । हामि सवैको साथ, सहयोग र सहकार्यवाट नै हनुमन्ते पर्वतको रहस्य उजागर गर्न र पर्यटन प्रर्वधन गर्न सकिन्छ । यसका साथै यस क्षेत्रको विस्तृत अध्ययन अनुसन्धानका लागि सम्वन्धित निकायहरुले पहल गर्नु पनि हनुमन्तेको ईतिहास कोट्टाउने राम्रो प्रयास हुन सक्छ ।




No comments:

Post a Comment