Saturday, September 22, 2012

जटापोखरी यात्रा संस्मरण

 दिन २ .....
बेलुकाको सल्लाह अनुसार विहान ६ वजे हिड्ने लक्ष्य थियो । बेलुका नै शेर्पा दम्पत्तिलाई बिहानको नास्ताको रुपमा रोटि र तरकारीको अर्डर भैसकेको थियो । यद्यपी विहानको साँढे ६ त ओच्छ्यानमा भैसकेछ । तै पनि उठ्नै मन लागेको छैन । ओ साथि हो उठौ यार अव,  खाजा तयार भैसके छ फेरी मेरो त चप्पल पनि किन्नु छ । माथि तिरलाई अलिअलि चिजविज पनि त चाईएला नि त्यो पनि किनौ । यस्तो पानीमा कसरी हिड्नु यार ? हिजोकोले अलिअलि टाउको पनि दुखेको, अनि वाहिरको झमझम पानी; मैले सिरकबाट टाउको मात्र निकालेर वाहाना बनाए । ओहो आज त मानेडाँडा पो पुग्नु छ त यार, यस्तो पाराले हुदैन पानि परेपनि हिड्नु पर्छ । ओ जिवन सर खाजा खाँदा ओर्दा पानि हराउछ होला उठौ यार । मैले जुरुक्क उठ्दै भने । शेर्पा दम्पत्तिले गहुँको सुख्खा रोटि र आलुको तरकारी विहानै तयार गरिसकेछन् । कति मेहनती छन् यिनिहरु अनि कति सुखि छन् । तिन जनाको परिवार छ । ६ वर्ष अघि १३ वर्षको उमेरमा विहे गरेर भिन्नु भएका रे । बुवाले अशं लगाईदे पछि १२ कक्षा पढ्दा पढ्दै छोडेर होटल व्यवसाय गरेका भाईको आज ठुलो पसल पनि छ, ५ वर्षको त छोरा नै रहेछ ।
कुनै दिन खोलाको विचबाट मोटरसाईकल चलाएर तारेको खिम्तीखोला आज पुलमाथिबाट हेर्दा समेत डरलाग्दो लाग्छ । करिव १ वर्ष अगाडि गजाङढुङ्गा उ.मा.वि.को स्वर्ण महोत्सवमा जादाँ मैले चलाएरै चुचुरे गएको थिए । तर आज यसको बेग र गर्जाहट अत्यासलाग्दो छ । खिम्ती खोला तरेर खरानीटार पुग्नु अघि खुला समथर मैदान आउँछ । यहाँ पहिला ठुलो कृषीर्फाम थियो रे पछि माओबादी द्वन्दकालमा बन्द भएछ । माओवादीले विष्फोट गराएका घरका केहि भग्नावशेस भने देख्न सकिन्थ्यो । खरानीटारमा सानो पनि बजार छ । हिउँदमा यहाँ सम्म बस, ट्रक जस्ता सवारी साधन आउँछन् । पाँचपोखरी, जटापोखरी यात्राको प्रबेश विन्दु अनि यस क्षेत्रको अन्तिम व्यापारिक केन्द्र पनि हो यो ।  हजारौं तिर्थयात्रिहरु हिड्ने पदमार्ग भए पनि गर्जाङका बाटाहरु त्यति वेवस्थित भने छैनन् । बाक्ला मकैबारीको डिलैडिल हिड्दा कहिले घरको आँगनमा पुगियो त कहिले भैसिको गोठ । हामि कहिले अरुलाई सोध्दै त कहिले तिर्थयात्रिहरुलाई पर्खदै अगाडि वढ्ने गर्छौ । ए बावु हो कता जान लागेको ? पोखरी हो ? बाटो त्यताबाट होईन , तलबाट हो तलबाट । एक जना वुढिआमाले कराएपछि फरक्क फर्केर कोदोबारी नै कोदोबारी तल झर्दा जिवन जि ले दिल जि लाई निकै गालि पनि गर्नुभयो जतापायो त्यतै हिड्ने भनेर । हुन पनि दिल जि को जिद्धिले गर्दा नै गलत बाटो हिड्दा बेकारमा आधि घण्टा खेर गएको थियो । अघिको टाईम मेकअप गर्नुपर्यो भन्दै फटाफट हिड्न थालियो । पुम्पाबाट हिडेको करिव २ घण्टा भैसकेछ । खाना खाने ठाँउ खहरे पुग्न अझै २ घण्टा लाग्ने अनुमान छ । खिम्तीखोलाको रफ्तार जस्तै किनारमा हाम्रा पाईलाका रफ्तार वढ्दो छ । ओइ साथिहो अगाडि हेर त । दिल जि एक्कासी कराउँदा एक पटक त झसंग नै भईयो । यसो हेरेको त एक जना महिला (पछि थाहा भो अनम्यारिड नै रहिछिन्) अघिअघि हिड्दै छिन् । दिल बहादुर जि लाई सकसक लागिहालेछ अगाडि बढ्ने सुरसार गरिहाल्नु भो । ओई बुडा यस्तो तिर लागियो भने ढिलो हुन्छ यार, फटाफट जानु भन्दा पनि बालै भएन नि यार बेलुका ढिलो भए जहाँ पुगिन्छ त्यही टेन्ट फिट गरौला भन्दै गफ लगाउन दौडि हाल्नु भो । खहरे पुग्दा सम्म उहाँको निकै घनिष्ठता वढिसकेछ क्या हो मोवाईल नं. को पनि आदानप्रदान भयो । हाम्रो भने बोलचाल नै भएन । दिल जि ले पछि भन्दै हुनुहुन्थ्यो त्यहीको एक विद्यालयको शिक्षिका हुन अरे अनि नाम चाहिँ बिना । हिजोको बहिनिको नाम पनि बिना नै थियो कस्तो संजोग खैर अनुहार भने ति विद्यार्थी बिना कै राम्रो थियो । खहरेभन्दा माथि राम्रो होटल छैन भनेर खाना त्यहि खाने कुरा भो । अर्डर दिएपछि मात्र तयार गरिने भएकोले केहि समय लाग्ने भयो । बिना जि पनि विद्यालयतिर गईसकेको हुनाले होटल मालिक गोम्बा बाउ संग गफ लडाउन लागियो । तारेको चौरिको छालामाथि बसेर वुढाले उहिलेका कुरा निकै ठाटिएर गर्न लागे । मैले २० वर्ष चौरी पाल्दा यो पहाडको सेरोफेरो सवै घुमेको छु । सय ओटा भन्दा वढि त मेरो बाख्राहरु र भेडाहरु नै थिए । आजकालको मान्छेले के काम गर्छ र ? ८० वर्षे वुढाको जोस उम्लदो थियो । छेउमै बसेका दिल वहादुर जि ले घिउ थप्ने काम गर्दै थिए । तपाई तेत्रो वर्ष लेकमा बस्नु भएछ । बनझाक्री, यति देखिएन त ? दिल बहादुर जि को हाईपोथेटिकल प्रश्नमा वुढा त झन पो जोसिएर  किन नहुनु यो हुन्छ हाम्रो पालामा कतिलाई बनझाक्रीले लगेको, यति पनि आँउथ्यो । मलाई पनि कयौं पटक तर्साको छ । तर मैले आखाँले नै चाहि देखेको छैन भन्दै बुढा पन्छिन खोजे पछि मैले वुझिहाले यो बुढाले ठुलै गफ हाने । बाटो भरिका जति चौरि गोठमा पसियो, बसियो प्राय सवै ठाँउमा बनझाक्री र यतिको कुरा उठेको थियो । अधिकांसले पहिला हुन्थ्यो अहिले हुदैन भन्ने तर्क राखे । मलाई पनि यो विषयले नझस्काको त हैन तर मेरो विज्ञानको अगाडि यि रहस्यहरु निरिह बने ।
खाना खाने मान्छेलाई अल्मल्याउ छ कि अहिले ? यहाँ पानि सार्दे ।  गोम्बा आमाले थर्काएपछि बुढा जुरुक्क उठेर पानि सार्न लागे अम्फोरामा । यो कुनै अचम्म थिएन शेर्पाहरुको चलन नै यस्तै हो मातृसतात्मक संस्कृति, उस्तै परे कुट्न समेत बेर लाउदैनन महिलाहरु । पदमचालको सोल्दार, गहुँको ढिडो नउनी घिउको चोईलीको विहानीको खाना पश्चात फेरी यात्रा सुरु भयो । गोम्बा वाउ कै घरमा भेटिएका छिरिङ भाईलाई पाँचपोखरीबाट च्छोरोल्पा निस्कने बाटो थाहा रहेछ । करिव ३ दिनको बस्तिविहिन अस्पष्ट चट्टानविचको कठिन यात्रा पश्चात हिमाल छिचोलेर बेदिङ पुग्न मन नलागेको त हैन तर मौशमको खराबी, समयको अभाव र तयारीको कमिले आँट आएन । मलाई यात्रामा निस्कन निकै रमाईलो लाग्छ । अझ कठिन यात्राले झन रोमान्चक बनाउछ । मेरो तथ्याङ्क अनुसार अहिले सम्म नेपालको ५५ जिल्ला घुमिसककेको छु । के हिमाल, के पहाड, पहाड के तराई प्रायमा मेरो पाईला परिसकेको छ । सगरमाथाको काखमा मात्र हैन, कैलालीको बस्तिमा समेत म पुगेको छु । मनाङ्ग र मुस्ताङको अलौकिक सौन्दर्य मात्र हैन, सौराहाको बाघ र गैडा समेत मेरा आँखाले देखेका छन् । कन्काईको पुल मात्र हैन कर्णालीको पुल पनि यि खुट्टाले टेकेका छन् । नेपालगञ्जको गर्मी मात्र होईन, पोखराको मच्छड पनि पचाएको छ यो ज्यानले । चाँडै नै म यो बाटो पनि हिड्नेछु, हिमाल छिचोल्नेछु र थोरङलाको ५४१६ मिटरको रेकर्डलाई तोड्ने छु । त्यती मात्र हैन एउटा राम्रो डकुमेन्ट्री बनाउने छु अनि दोलखाको पदयात्रामा नयाँ पदमार्गको विकास गर्नेछु । यो मेरो लक्ष्य हो ।
हाम्रो यात्राको सवैभन्दा कठिन समय अव सुरु हुदैछ । घ्वाङखोला खिम्ती खोलाको दोभान जहाँ हामि अहिले उभिरहेका छौं यहाँबाट करिब ५ घण्टाको ठाडो उकालो पश्चात मानेडाँडा पुगिन्छ । सायद पश्चिम नेपालको घनघस्या भन्दा पनि यो कठिन हुनुपर्छ । कालिन्चोक, गोसाईकुण्ड, च्छोरोल्पाका धेरै उकालोहरु काटे मैले तर पनि यो उकालो भयंकर लाग्छ । आज बाटोमा बाघभालु नभेटिएलान किनकी उकालो नै भरी हजारौ तिर्थयात्रिहरु लामबद्ध भएर एकनास संग हिडिरहेका छन् । भोक र तिर्खाले लखतरान हुदै फोक्टे पुग्दा आधा उकालो काटियो रे । फोक्टेको सानो गोठ भनौ वा सिजनल होटलमा ओच्छाएको ठिङ्ग्रे सल्लाका काचो स्याउला पनि आज आलिसान होटलका मखमल भन्दा कम छैनन् । दिल जि लम्पसार परेर मस्त संग निदाउनुभएको छ यसमाथि । जिवन जि र म अँगेनुको डिलमा आगोको राप लिदै छौं । अर्कोपट्टि डिलमा अधबैशे साउनी चाउचाउ पकाउने तरखरमा छिन् । केहि कुरा गर्न मन लागेको थियो, केहि सोध्न मन लागेको थियो तर उनिसंग फुर्सद छैन आज । चिसो दाउराको आगो फुक्दा फुक्दा उनको अनुहार रातो भैसकेको छ त्याँहाबाट उडेको खरानीले चाउचाउको पानि धमिलो बनाईसकेको छ । भनिन्छ भोजन भन्दा भोक मिठो नखानुको विकल्प छैन । घिन मान्ने कुरै भएन । चाउचाउ बाहेक अन्य खाना पनि पाईनेछैन ।
पानि बाक्लै परिरहेकोले हिडाई अलि सुस्त छ । साथिहरुले अलि वढि थकान महसुस गरिरहेका छन् । समयले नेटो काटिसकेको छ यद्यपी आजको गन्तव्य पुग्न अझै केहि घण्टा लाग्न सक्छ । बस्ने बासको ठेगान छैन, खाने गाँसको ठेगान छैन । भन्न त मेरो जिरीको साथि चन्द्रप्रकाशले हामिलाई छोडेर उकालोमा अघि वढेपछि हामि मिलाई राख्छौं, जसरी पनि आईपुग्नु भनेको थियो । त्यस्लै केहि ढुक्क थियो । तर पनि समय निकै ढिलो भईसकेकोले अन्यले ओगट्ने डर थियो । फेरी पाल हाल्नलाई पनि त केहि समय त चाहियो नि त्यै पनि यस्तो पानिमा । साथिहरुलाई छोडेर म अघि वढे बन्दोवस्तीका लागि । मानेडाँडा पुग्दा करिव ६ बजिसकेछ बेलुकाको । करिब ४÷५ चौरिगोठ होलान त्यो पाखामा । आज बाछा सहित चौरिहरु लखेटिएका छन पाखातिर अनि उनिहरुको स्थानमा छन् अटाईनअटाई मान्छेहरु । केहि काँचो धुपिका स्याउला र त्रिपाल तथा प्लास्टिकको ओतका अलवा अन्य सुविधा प्राप्त हुने छैन कसैलाई । म्याट्रिस, कम्वल आदिको आफै व्यवस्था गर्नेलाई केहि राहत मिल्ला नत्र हिमालबाट आउने चिसो स्याठले धेरैलाई सताउने छ । खानाका लागि बरु राम्रै व्यवस्था छ । ढिडो, भात, चाउचाउ छानिछानि खान पाईन्छ । हाम्रो लागि गोठमा खानाको व्यवस्था हुनेभए पनि सुत्नको व्यवस्था नहुने कुरा छिरिङ दाईले स्पष्ट भनिसकेका छन् । त्यसैले चन्द्रप्रकास र मैले छेवैको डाडामा पाल हालिसकेका छौं । जिवन जि र दिल जि पनि सासमात्र राखेर आईपुग्नु भएको छ । छिरिङ दाईलाई भ्याई नभ्याई छ व्यापार गर्न त्यसैले अगेनुको डिलमा बसेर हामि भिजेको सरिर सेकाउदै आफै पदमचालयूक्त रक्सी तताउदै पिउँदै छौं । दिनभरिको थकान अनि अत्याधिक चिसो यसको विकल्प अरु छैन । फेरी पदमचाल जिउ दुखेको निको हुने औषधी पनि हो । अधिकांस पाहुनाहरुलाई खाना खुवाईसकेपछि अलि फुर्सद भएकोले केहि जिज्ञासा राख्ने प्रयास गरयौ हामिले । पत्रकारिता क्षेत्रमा पनि केहि कलम चल्ने भएकाले यहाँको बारेमा केहि जानकारी लिनु उचित ठान्यौ । गौरिशंकर संरक्षण क्षेत्र देखि लिएर रेडपाण्डामात्र हैन बनझाक्री, यति सम्मका विषयमा कुरा भए । संरक्षण क्षेत्र बारेको प्रशंगमा छिरिङ दाई निकै कड्किए पनि । संरक्षण क्षेत्रले स्थानीयको हितमा केहि काम नगरेको बरु उल्टै स्थानीयको प्राकृतिक श्रोत साधन माथिको अधिकारलाई र पहुँचलाई संकुचित गरेकोले कुनै हालतमा गौरिशंकर संरक्षण क्षेत्रलाई सहयोग नगर्ने बरु यसको विरुद्ध कडा आन्दोलन गर्ने सम्मको आक्रोस मात्र पोखेनन् हामिलाई समेत संरक्षण क्षेत्रको बारेमा सत्यतथ्य वुझि मेडियामा प्रकाशण प्रसारण गर्न अनुरोध गरे ।  निकै रमाईला र गहकिला सन्दर्भ चलिरहेपनि समय अभाव र थकानका कारण यि बहसलाई विचमै छोडेर पालतिर लागियो । 
क्रमश ः    

No comments:

Post a Comment