Wednesday, September 19, 2012

जटापोखरी यात्राका सस्मरणहरु ..............

पहिलो  दिन 

“कञ्चन हिँउले चुलिएका गगनचुम्बी हिमालमात्र हैन, सुनौला धानका विशाल फाँटहरु पनि हाम्रै हुन । चट्टानै चट्टानका निर्जन कन्दरामात्र हैन, चटक्क परेका गराका वस्ती पनी हाम्रै हुन । स–सना पोथ्रामा चिरविराउने पंक्षीमात्र हैन, घना जंगलमा गर्जने बाघ पनि हाम्रै हुन । हिमाल पहाड र तराई जोड्ने अनगिन्ती नदिनालामात्र हैन, सुन्दर ताल तलैया पनि हाम्रै हुन । हाम्रो अनेक भाषा छ, हाम्रो विविध संस्कृति छ, फरक मुल्य मान्यता छ र पनि एक अर्कामा सद्भाव छ, सम्मान छ, अनेकता भित्र एकता छ । त्यसैले त गर्व गर्छु म नेपालको अनि नेपाली हुनुको ।”  
माथिका वाक्याँश जिरी लिङ्कन बजारबाट सल्लाघारीको नाकै ठोकिने ठाडो उकालो काट्दाको अनुभुति हो । जनैपुर्णिमाको अवसरमा मेला भर्न र त्याहाँका आर्कषक चल अचल तष्विरहरु आफ्नो क्यामेरामा कैद गर्न पाँचपोखरी जटापोखरी पदयात्रामा निस्केका हामी तिन जवानको (जिबन लामा, दिलबहादुर के.सी. र म) अवको करिव ५ दिन साउनको झरी अनि जुकाहरुको विचमा कठिन यात्रा हुनेछ । हाम्रो गन्तव्य टाढा छ, यो यात्रामा हामी थुप्रै अग्ला पहाड अनि अधिक उचाई पार गर्नेछौं, कयौं जंघार तर्नेछौं, सयौं बस्ती छिचोल्ने छौं । वर्षा याममा प्राय हुस्सु र कुहिरोले ढाक्ने भएपनि आज जिरीबाट उकालो लाग्दा थाप्लो पोल्ने घाम लागेको छ । सल्लाका बाक्ला पातहरुले पनि छेक्न सकेका छैनन् । हाम्रा पाईला एकनासले चल्न सकेका छैनन् । रक्सी खाएर लर्खराएको मान्छे जस्तै हल्लिदै चुपचाप लेउ लागेर चिप्लो भएको ठाडो उकालो चढ्दै छौं हामी । उकालो बाटो, प्रचण्ड गर्मी, पिठ्युँमा ठुलो रुकस्याक बोल्दा पनि स्वाँस्वाँ लाग्ने डर । यस्तो बेला प्राय म संगित सुन्दै हिड्न मन पराउँछु तर आज किन हो मन लागेको छैन त्यसैले त मनमा अनेकन कल्पनाहरु तरंगित भईरहेका छन् । करिव डेढ घण्टाको लगातारको उकालो बाटोमा हिडिरहँदा १५ मिनेट पनि वित्ता नवित्दै मेरो राष्टियताको कल्पनाले फड्को मारेर सुरा सुन्दरी तर्फ प्रबेश गरिसकेको थियो । म कल्पना गर्दै थिए आजको यात्रामा कोहि राम्री केटि भेटाए बाटो पनि सजिलै कट्थ्यो अनि गफ गर्न पनि मजा आउँथ्यो । सायद साथिहरुले पनि यहि सोचिरहेको हुनुपर्छ । किनकी मनोविश्लेशकका भनाईमा उमेरपुगेका केटाकेटिहहरुको दिमागमा प्राय यस्तै कुरा खेल्ने गर्छ रे । नभन्दै त्यस्तै भयो । भनिन्छ दैवले तँ आँट म पुरयाईदिन्छु भनेजस्तै भगवानले हाम्रो मनको कुरा सुनेजस्तै भयो । बहिनीको नाम के हो नि ? दिलबहादुर जि अलि बाठो मान्छे यस्तो मामिलामा प्रश्न तेर्साईहाल्नु भो । बिना उताबाट प्रतिउत्तर आयो । कतिमा पढ्छौं ? घर कहाँ हो ? जिरी के कामले आएको ? घरमा को को छन् । दिल बहादुर जि ले प्रश्नको लर्को नै लगाईदिनु भयो । मालिको डाँडामा आईपुग्दा सम्म हामि विच कुराकानीको क्रम निकै वढिसकेको थियो । कुराकानीमा सहजता महसुस भै सकेको थियो । मालिको भिरर्खक बस्ने उनि जे.टि.एस. मा दिदिलाई भेट्न आएकी रहिछिन् । उकालोमा संगै भएपनि ओरालोमा उनलाई भेट्न मुस्किल परिरहेको थियो हामिलाई । हुनत हामी पनि पहाडमा नै जन्मेको हुर्केको अनि यहिको पाखा पखेरोमा खेलेको तर पनि उनको पाईलालाई पछ्याउन निकै गारो भयो आज सायद ढाडको भारीले पनि हुन सक्छ । केहि अगाडी वढेर पर्खिन्थिन उनि अनि हामी उनि भएको ठाँउमा पुग्न लाग्दा फेरी अगाडि वढ्थिन । हामिलाई उनको यस्तो कृयाकलापले निकै रोमान्चित तुल्याईरहेको थियो । वास्तवमा उनि असाध्यै राम्रि थिईन अनुहार पनि सुन्दर, जिउडाल पनि मिलेको । उमेर पनि त्यस्तै १६÷१७ भन्दा वढि होईन ।  यात्राको क्रममा हामिले उनिलाई धेरै जिस्कायौं । जिस्काउदाँ उनि मुसुक्क हास्थिन मात्र यसले हामिलाई जिस्काउन थप उर्जा मिल्थ्यो । एलुङ सम्मको करिव २ घण्टाको बाटो हामिले जम्मा १ घण्टामा काटेका थियौं । हामीमात्र भएको भए सायद ३ घण्टामा पनि कोनी । वास्तवमै यो चिजमा कति शक्ति छ, हिड्न नसक्नेलाई दौडाउन सक्छ । थकानले लखतरान परेकालाई पुर्नताजगी प्रदान गर्छ, कायरलाई बहादुर बनाउन सक्छ, थला परेको विरामीलाई तङग्रयाउन सक्छ । खाजा खाने कुरा भो एलुङमा । उनलाई हामीले धेरै अनुरोध गरयौं तर उनि मानिनन् फटाफट बाटो लागिन । एकप्रकारले नरमाईलो अनुभुति भईरहेको थियो यद्यपी मिलन र विछोड जिन्दगिको नियम नै हो भन्दै चित्त बुझाईयो ।
 तिन खोलाको विचमा अवस्थित केहि सानो टार, अनि त्यस टारमा रहेको विद्यालय, स्तुपा, बौद्ध गुम्बा, र केहि ससाना होटलहरु बास्तवमै निकै आर्कषक छ एलुङ । यहिको विद्यालयमा पहिला मैले ३ वर्ष पढाएको छु । निकै रमाईला अनुभवहरु छ यहाँको । कहिले काँहि रमाईलो गर्दा गर्दै छर्लङ्ग रात काटेको क्षणहरु अझै पनि मानसपटलमा ताजै छन् । त्यसैले यो बाटो हिड्दा म मेरो विद्यालय र यहाँका होटलहरुमा एकपटक पस्नै पर्छ । हाई हेल्लो गर्नै पर्छ । हुन त आज निकै ढिलो भईसकेको छ, जिरी बाट हिड्दै धेरै ढिलो हिडेको तर पनि मेरो यो आदतलाई साथिहरुले नर्कान सक्नुभएन । माली र स्यामाको सिमानाको रुपमा रहेको स्यामा डिलमा पुग्दा झमक्कै साँझ परिसकेको छ । यलुङबाट यहाँ सम्मको उकालोको लागि हामिले डेढ घण्टा खर्चनुपर्यो । सायद अघिकि बहिनी भएकी भए १ घण्टा पनि लाग्दैनथ्यो होला । सामान्य हाँसो चलेथ्यो भन्ज्याङको चौतारीमा एकैछिन विश्राम गर्दा हामिविच । करिव १ घण्टा जंगलको बाटो निष्पट्ट अध्यारोलाई मोवाईलको सानो टर्चको प्रकाशले चिर्दै एउटा सानो चौतारीमा पुगियो । थाम्नै नसक्ने ओरालोमा चिप्लिएर कति लडियो त्यस्को केहि लेखाजोखा छैन । दिल बहादुर जि को त चप्पल पनि चुडिँएछ हातमा पो बोकेर ल्याउनु भएछ । बर्षाको समय जुत्ता लाउँदा भिजेर कामै नलाग्ने हुन्छ भनेर सवैले चप्पल लगाएर आएको झन पो वर्वाद भयो । एकातिर चिप्लने र हिलोमा गाडिने डर अर्कोतिर अध्याँरोमा सर्पले ठुङला भन्ने डर । वडो त्रासदिको विच बेलुकाको करिव ८ वजे तिर लखतरान परेर पुम्पा पुगियो । आजको हाम्रो बास यहि हो । गजाङढुङ्गा उ.मा.वि. का शिक्षक तथा मेरो साथि पदम सरले हाम्रो खाना बस्नको व्यवस्था त्यहीको एक शेर्पा दम्पतिको होटलमा गरिदिनु भएको रहेछ ।
क्रमश ः

No comments:

Post a Comment